शंका

गोतामेजीको बाइक चोरी भयो रे।

बिहानको चार बजे.. ठ्यांग-ठूंग, ढ्यांग-ढूंग… मान्छेको चहल-पहल … सुत्नै सकेन छिमेकी खड्का कान्छो। स्कुल को छुट्टीमा  आएको, बिहान बिस्तारै उठ्थ्यो।  उसको उत्तानो सुत्ने बानि- छातीमा हात राखेर, ऐठन परि बस्ने। आज फेरि नराम्रो सपना देखेर उठें भनि ठानेछ। हैन रहेछ, गोतामेजीको बाइक चोरी भा रे।

खड्का कान्छा चप्पल लगाएर घर बाहिर निस्क्यो। उनका आमा बुवा दुवै घर अगाडि उभि रहनु भएको थियो – टर्च बत्ति बालेर। टोलका अरु मान्छे नि भेला भएका थिए… हल्ला गरिरहेका थिए। कसैले थानामा इन्स्पेक्टर चिन्या रे, अर्कोले सिमानामा सशस्त्र चिन्या रे। इंडिया त कटाउनै नदिने रे… पुलमै छेकेर चोरलाई समात्न लाउने रे।
अलिक मुख छिट्टो, बराल बाले सोधिहाले- बाइक अघि चोरी भएको, बोर्डर काट्नै थ्यो भने काटेर आसाम पुग्ने बेला भइ सक्यो, यहाँ उभिएर तिमीले भन्दा बाटो छेक्छ पुलिसले?
छिमेकी चुप नै बसे। बरालबा को कोहि मुख लाग्न नमान्ने। सम्भवत साँच्चिनै त पुलिसलाई चिनेका थिएनन पनि होल। रवाफ सबै उडेर गयो।
“बाइक चोरी  भयो त भयो। अब गाउँले मात्रै भेला भएर त केहि नाप्ने हैनन् त।” खड्का कान्छोले आँखा मिच्दै भन्यो।
एक दुई  जनाले पुलुक्क हेरे। उनका बुबाले चुप लाग भनेर संकेत गरे। गोतामेजी ठुला ठाला मान्छे, गाउँघरमा सबैले चिन्थे। कसैको फोन आउँदा उनकैमा आउँथ्यो। अंग्रेजी पढे लेखेका। दफ्तर तिर “गौतम” लेख्छन रे  थर पनि। गाउँमा कति जना कै पो बाइक थियो र? गोतामेजिकै त थियो। त्यहि पनि चोरी भएछ। अनि गाउँ सारा किन नउठोस त बिहान चार बजे।
“राती नौ बजे मैले ताल्चा लाएको गरेजमा” गोतामेजीकी श्रीमती गुनासो गर्दैथिन रुनै लाग्या स्वरमा। तल्लो पट्टि डेरामा बस्ने बब्लू र उसकी श्रीमती १२ बजे सम्म त टिभी हेरिरहेका थिए रे।
“कहानी घर घर की देखेर त मैले वर्तन माझेको” भनिन् बब्लूकी श्रीमतीले। “उहाँ पनि भोलि त सुबह ढीलो उठ्छु भनेर टिभी देख्न बस्नु भएको”- थपिन् ।
“हैन राम! कति बेला चाहिँ आएको यो चोर?” गोतामेजीकी स्वास्नीले स्वर तिखो पार्दै भन्न भन्न थालिन्। “यत्रो टोलमा अरु कसैकोमा नपसेर यहाँ मात्र चोरी गरेछ।”
“अरु कसकोमा छ र बाइक चोरी गर्नका लागि” खड्का कान्छोले मन मनै सोच्यो।
गोतामेजीकी श्रीमतीका आँखा रसाउन लागेका थिए। उनका वरिपरि जम्मा भएका खनाल काकी, दुई घर भट्टराईकी  बुहारीहरू (अरु बेला एक अर्काका कुरा काट्ने, त्यस दु:खका बेला त सहानुभूति दिन आएका संगै उभिएर कुरा सुनिरहेका थिए) र बब्लूकी श्रीमती सबैका अनुहार अलिकति राता भए । गोतामे बज्यूलाई त उनको बाइक चोरी भएको मात्र हैन, अरुको घरमा चोरी नभएको पो दु:ख लाग्या रहेछ। कसैले केहि भनेनन्। माथिल्लो तलाको बाल्कोनीमा गोतामेजी निस्किए। उनका श्रीमतीलाई बोलाए । श्रीमती रुन थालिसकेकी थिइन्। उनका वरिपरि छरछिमेकीका अनुहार  हेरेर, माया लाग्दो मुख पारेर “म गएँ” भने जस्तो गरेर सीढ़ीतिर लागिन्| सबैले सुम्सुम्याइदिए। गोतामेजीकी श्रीमती उता फर्किने बित्तिकै सबैको अनुहार मा रहेका सहानुभूतिका हरेक निशानी हराउने छ। तर समाज भनेकै त्यस्तै हो। मन मनै “ठिक्क पर्यो” भन्ने नि कति जना होलान्। तर मुखले साथ् दिन भने छोड्दैनन्।
पल्लो घर दिपक पनि त्यहिँ  उभिरहेको थियो। खड्का कान्छोसँग आँखा जुधेर इशारा गर्यो- चुरोट तान्न जाऔं। खड्का कान्छोले आफु अगाडी उभिएका उसका बुबा-आमातिर संकेत गर्दै जिब्रो टोकेर इशारा गर्यो हातले- ‘होस्! अहिले झापड खाइन्छ।’
गोतामेजीकी श्रीमती सीढ़ी चढेर घर पसिन्। बब्लू र उसकी श्रीमती पनि घर पसे। झिसमिसे उज्यालो पूर्व पट्टि आकाशमा फैलिँदैछ। दिपकले फेरि इशारा गर्यो- ‘चिया खान जाऔं।’ खड्का कान्छा का बुबाआमा पनि टर्च निभाएर घर भित्र पस्न लागे। कान्छाले भन्यो “म एकछिन दिपकसंग जान्छु। चिया खाएर आउँछु।”
“चिया रे? यति बिहान? कहाँ भेट्छस?” बुबाले सोधे।
“डे बसको स्ट्याण्डमा।” कान्छाले भन्यो।
“ल जा।” बुबाले छिट्टो अनुमति दिइ हाले।
************************************************
“तिमी खाँदैनौ ?” दिपकले सल्काएको चुरोट कान्छातिर तन्काएर सोध्यो।
“खान्न” कान्छाले टाउको हल्लयो।
दुई जना बसेर काठमाडौँ जाने बसको ताँती  हेर्न लागे|
४-५ वटा बस स्ट्याण्डमा लाइन लाग्या थिए। प्राय सबैमा खलासीले सामान लोडिंग गर्दै  थिए।
“एउटा बसको हूडमा चढाएर लग्यो भने कहाँ भेट्छ बुढो को बाइक”, दिपकले कुरा निकाल्यो।
“कुदाएर लग्यो भने पनि कहाँ भेटिन्छ”, कान्छाले टाउको नफर्काइ भन्यो। “राजा मार्ने त  भेटेनन्, बुढोको बाइक के भेट्थ्यो पुलिस ले?”
दिपक हाँस्यो। “खोज्दा पनि खोज्दैन” भनेर थप्यो।
चिया सकियो। घाम उदाउन लागेको थियो। “अब गएर निद्रा लाग्दैन,” कान्छोले भन्यो।
“अब के सुत्छौ र?  बिहान भयो” दिपकले भन्यो। दुई जना घरतिर हिंड्न लागे।
“हैन,” कान्छाले ठूलो स्वरमा सोचेझैं गरेर भन्यो। ताला लाएको थ्यो रे त ग्यारेज। गेट पनि त बन्द नै थ्यो होला। कस्तो  कसैले चाल नपाएको होला! अझ बाइक डोर्याएर लग्या भए त म सुतेको कोठाकै झ्याल बाहिरबाट लग्नेथिए होला। कस्तो चाल नपाएको मैले। म त प्राय छिट्टै ब्युँझिन्छु …”
“स्टार्ट गरेर लगेनन् नि त! चोर पनि मुर्ख त हैन होलान् त!” दिपक झर्केर बोल्यो। एक छिन दुवै चुप लागे। मंगसिर सकिन लाग्दैथ्यो। सास फेर्दा दुवै जनाको सेतो बाफ निस्कँदैथ्यो। पुषको जाडो केहि दिनमै शुरु हुने छ।”
“म त उठेको भए नि मतलब गर्दिन थिएँ।” दिपकले थप्यो।
कान्छाले पुलुक्क दीपकलाई हेर्यो। “के साह्रो रिस उठेको त तिमीलाई चाहिँ बुढो सँग।”
“हो त अनि! देखेनौ बोजूलाई? बाइक त हराएको हो नि! त्यहि बाइक कुदाउँदा छोराको एक्सिडेन्ट भइदिएको भए कति सराप्ने थिइन् त्यहि बाइकलाई। अहिले हेर न, मान्छे मरेको जत्तिकै रोइ- कराइ गरेर … “
कुरो ठिकै हो, कान्छाले सोच्यो। उसलाई नि त्यस्तै लागिरहेको थियो। एकछिन केहि बोलेन।
“एक लाख को पो हो त।” एक छिन पछि थप्यो।
************************************************************
यस बिचमा गोतामेजी ओछ्यानमा छन्- आँखा उनका खुला छन्। पटक्कै निद्रा लागेको छैन। उनकी श्रीमती अघि एक छिन स्याँक-सुँक गरिन् , चोरलाई सरापिन् , एक पटक माइत फोन गरेर भाउजूलाई  सुनाइन पनि- बिहान साढे पाँच  बजे। अनि सुतिन्। निदाइन् ।
गोतामेजीलाई कसरि लागोस निद्रा ? उनकी श्रीमतीलाई त बाइक गर्व कै वस्तु मात्रै त थियो। बजार जाँदा पछाडि  बस्ने, साग-सब्जी अगाडी ह्यान्डलमा झुन्ड्याउने- सजिलो। श्रीमतीका लागि बाइक आफ्नो आफ्नै पर्ने, तर खासै माया नलाग्ने वस्तु थियो। बाइक हरायो- बाइक भन्दा धेरै त शान हरायो। ‘गोतामेजीको  सबैजना भएकै बेलामा बाइक हरायो! त्यत्रो ठूलो गेट हुँदा -हुँदै। ‘ अलिक दिन बजारबाट सब्जी हातमा बोकेर ल्याउन पर्ने हुन्छ। छिमेकी ले सोध्छन- ‘बाइक भेटियो’?  बाइक को खासै चिन्ता त कसलाई पो हुन्छ र, त्यहि घाउमा नुन थप्न सोध्छन। छिमेकीको काम नै त त्यहि हो।
बाइक प्यारो त गोतामेजीलाई! कति सजिलो अफिस जान, फर्किन, अब सात वर्ष बाइक चलाएको, साइकल कुदाएर अफिस जाने कुरा आउँदैन। प्युनले कुदाउँछ साइकल त। बसमा जाऔं भने त्यति टाढा छैन, रिक्सामा जाऔं  भने दिनदिनै त्यो रिक्सावाला संग भाडाको लागि बाझ्न पर्ने। ५-१० रुपैयाँको लागि बाझेको कसैले देख्यो भने इज्जत जान्छ। बाझेन र भने जति भाडा दियो भने महँगो पर्न जान्छ। दिनको ओहोर-दोहोर गरेको  ४०रुपैयाँ, महिनाको १२००। हुन त बाइकमा पेट्रोल हाल्दा नि त्यत्ति नै लाग्छ। तर बाइक भनेको आफ्नै हो- जता पनि जान सकिन्छ, जतै  रोक्न सकिन्छ। छिटो हुन्छ। गाउँलेले इर्ष्याले हेर्छन।
“इर्ष्या !”  सोचले दिशा बदलिन्छ। कसले चाहिँ चोर्यो  होला बाइक?
जसले पनि लग्यो, इर्ष्या कै कारणले लग्यो। हो… चिनेकै मान्छे को काम हुनपर्छ। पक्कै पनि धेरै अघि देखि सोचेको काम हो यो! बाटो हिंड्दा- हिंड्दै चोरले बाइक देखेर ए! बाइक रहेछ। चोरौं ! भनेर त पक्कै चोरेको हैन।
गोतामेजीलाई आफ्नो कुरा ठीक  लाग्दै जान थाल्यो। उनि हाकिम मान्छे- ऐन देखि लिएर मनोविज्ञान सबै पढ्या छन्, मानिसको सोच, मानसिकता उनि बुझ्छन् । उनको मनमा जो शंका पलाएको छ, त्यो सहि हो। यो साधारण चोरी हैन, उनको विरुद्ध षड्यन्त्र हो। बाइक कहाँ हुन्छ, थाहा भएको, मान्छे कति बजे सुत्छ, थाहा पाएको, आवाज नगरि ताल्चा काट्न सक्ने- यी सबै कुराले गोतामेजीको शंकालाई दृढ बनाउँदैछन्।
तर कसले गर्यो होला यो काम? कसरि गर्यो होला यो काम?
हैन, कसरि थाहा पाउन नसकेका बब्लू र उसकी श्रीमतीले? गोतामेजीलाई  अचानक शंका लाग्यो। कति नै भयो र बब्लूलाई चिनेको? डेढ बर्ष? डेढ बर्षमा मान्छे चिन्न सकिन्छ त? हेर्दा सोझो छ, हँसिलो  छ, जहिले भेट्दा मुसुक्क हाँसेर नै बोल्छ, नम्र भएर। तर बिहारी हो, के भरोसा गर्न सकिन्छ र?
पारीबाट मान्छे बोलाएर साँचो हातैमा दिएको पनि हुन सक्छ नि। एक-डेढ लाख को कुरा पो हो त। एक मनले सोच्छ- हैन! नेपालको नम्बर प्लेट लागेको बाइक, पारि लगेर के उद्धार होला र?  फेरि अर्को मनले भन्छ – बिहार हो! मान्छे त बेच्छन, जाबो बाइक के हो र? पाट-पुर्जा निकालेर पनि त  बेच्न सकिन्छ।
कान तात्तिएछ सिरानीमा थिचिएर। सिरानी फ़र्काए। उनि पनि अर्को पट्टि फ़र्किए। यो छेउ अलिक शीत्तल छ। झ्याल बाहिर भट्टराईका घर देखिन्छन्। जेठोले तला थपेर ढलाइ गरिसक्यो, कान्छो इर्ष्याले रातै भा छ। दाजुको कमाइ बढ्या -बढ्यै छ, दाँज्न सकिन्न। घर तल्ला थप्न पैसा लाग्छ। कहाँबाट  ल्याउने? गोतामेजीलाई  झसंग भयो।
फेरि विवेक को आवाज ले भन्छ – “हैन, हुनै सक्दैन! भट्टराई इर्ष्यालु होला, तर पापी छैन।” फेरि अर्को आवाजले भन्छ- “तँलाई कसरि थाहा? दिन-दिनै बुढीको गनगन, आँखा अगाडी दाइको प्रगति। मान्छेलाई विवश बनाउन कति नै लाग्छ र?
“हैन” भन्छ अर्को आवाजले। “एक-डेढ लाखको लागि भट्टराईले त्यसो गर्दैन। सानै देखि चिनेको हो, बाउ-बाजे छिमेकी थिए। बरु यस्तो काम खड्का को घर मास्तिर भँडारी को हुन सक्छ। “
“हो!” भनि अर्को आवाजले सहि थप्यो। भँडारीले गोतामेजीको घर पछाडिको जमिन किन्न खोज्या थिए। ३ कठ्ठा। हुन त गोतामेजीले खेतीपाती नि लाएका थिएनन् तर पुर्ख्यौली जमिन किन बेच्नु भनेर मानेनन। भँडारीका घर दुनिया भरिका मान्छे डेरा बसेका थिए। हेटौंडाको, सर्लाहीको, सिक्किम को, एक परिवार मुसलमान, एक परिवार बिहारी पनि। भँडारीकी श्रीमती सांसद लाई चिन्दथिन । अनि जिल्ला भरिका दादा-गुण्डाहरु पनि त! दुई जनालाई  ऊ  त्यो घरमा चोरी गर भनेर अह्राउनु कुन ठुलो कुरो हो र? ए! हामीलाई जमिन नबेच्ने? भनेर रिस पनि त होला। तिनीहरुकै घरमा डेरा बस्ने बिहारी दुइ नम्बरी काम पनि गर्थ्यो क्यार। सुपारी देखि लिएर चाउ -चाउ , चुरोट, फेयर एण्ड लव्ली सम्म पारि इन्डिया लगेर बेच्थ्यो। अनि इन्डिया सम्म बाइक लाने मान्छे त भइ हाल्छ नि।
ए साँच्चि ! भंडारीनी त आएकी थिइन् त घर! गोतामेजी आफ्नो कोठामा बसेका थिए।  भंडारीनी भान्छा कोठामा पस्या थिइन्- घरमा पूजा छ, बुनिया पकाउने भनेर ठुलो झाँझर माग्न। फर्काउन पनि आएकी थिइन्। हो! फर्काउने बेलामा एक छिन् सीढ़ी मा उभिएर ग्यारेजतिर हेरेर के के सोध्या थिइन्। ग्यारेजको छानामा नांग्लोमा तोरी सुकाएको थियो। तोरी के कस्तो भनेर सोध्दा ग्यारेजकै बारेमा नि के के सोध्दै थिइन्। खोइ के सोधेकी थिइन्, गोतामेजीले बिर्से। श्रीमती उठे पछि सोध्छु भनेर निर्णय गरे।
त्यस दिनको दृश्य उनको आँखा अगाडि झल्झली देख्छन। गेटबाट निस्कँदा बब्लूकी श्रीमतीसंग नि त के कुरो गर्या थिइन्।
हैन! यो बब्लू र उसकी श्रीमतीले कसरि चाहिँ  केहि सुनेनन्? हुनै  सक्दैन!
हुन त मेरै झ्यालकै तल त छ नि ग्यारेज, एक मनले भन्छ। हैन, तर तला  माथि हुनु भनेको अर्कै कुरा हो.…”
उज्यालो हुन थालेछ। पूर्व पट्टिको झ्यालबाट आकाश निकै उज्यालो भएको देखिँदै छ।
*******************************
“बुढो आज सुतेनन्।” खड्का कान्छाले माथिल्लो तलाको झ्याल हेरेर भन्यो।
दिपकले नि “पक्कै सुतेनन् ” भने झैँ गरेर टाउको हल्लायो। “अहिले सम्म मनमा कुरा खेलेर चोर समाते होल। भन्छन नै- चोरी गर्ने को एक पाप, चोरी हुने को सय पाप।”
“सय पाप रे?” खड्का कान्छाले सोध्यो।
“छिमेकी देखि लिएर छोरा, आफन्त, बुढी धरि माथि शंका गर्न थालिन्छ। हरेक मान्छेलाई शंका गर्दा एक पाप लागेन त?”
खड्का कान्छोले “हो” भनेर टाउको हल्लायो। दिपक आफ्नो घर तिर पस्यो। “आउ न अहिले एक छिनमा।” गेट भित्रबाट आवाज आयो।
“म त सुत्छु अब, नौ बजे उठ्छु” भनेर खड्का कान्छो आफ्नो घर भित्र पस्यो।
 तर उसलाई नि निद्रा लागेन। एक त उज्यालो। त्यहि माथि सोच्न थाल्यो, बुढाले को-को माथि शंका गरे होला त? डेरामा बस्ने बब्लूलाइ त पक्कै गरे। बिचरा बब्लू! बा उनकै छोराले पो लगेर बेच्यो कि? के थाहा, ठुलो स्कूल पढ्थ्यो, खर्च होला नि! ड्रग्सतिर लागेको होला। तास खेल्दा पनि जहिल्यै पैसा थपेर दाउ बढाउन खोज्थ्यो। जुवाको पनि त बानि लाग्या हुन सक्छ। कुलत लागे पछि त्यस्तै हो। दियो होला नि चाबी नक्कली बनाएर कसैलाई।
“ह्या! के भएको। मेरो चाहिँ बाइक पनि चोरी भएको छैन त, किन दशतिर शंका गरेको होला” भनेर आँफै सँग  रिसाएर खड्का कान्छा ओछ्यानबाट निस्क्यो र भान्छातिर आमालाई चिया माग्न गयो।
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s